काठमाडौं : अब चीन, सिङ्गापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटालीलगायतका १० देशका नागरिकले आफ्नै देशको ईवालेट तथा मोबाइल बैंकिङ एपमार्फत नेपालमा सोझै भुक्तानी गर्न सक्ने भएका छन्। नेपालपे क्यूआर र अलिपे प्लसबीच अन्तरदेशीय भुक्तानी सेवाको सुरुवात भएसँगै यी देशका नागरिकले नेपालमा सहजै भुक्तानी गर्न सक्नेछन्।
हालै सम्पन्न सिङ्गापुर फिनटेक फेस्टिभल २०२४ मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एन्ट इन्टरनेसनलले यो सेवाको संयुक्त घोषणा गरेका हुन्। यससँगै ती देशका नागरिकले नेपाल भ्रमण गर्दा नेपालपे क्यूआरको नेटवर्कमा आवद्ध आठ लाख ७५ हजारभन्दा बढी मर्चेन्टलाई भुक्तानी गर्नसक्नेछन्।
यो सेवा अलिपे प्लसका साझेदारहरू मार्फत् उपलब्ध हुनेछ, जसमा अलिपे (चिनियाँ मेनल्याण्ड), अलिपेएचके (हङकङ एसएआर), टिनाबा (इटाली), एमपे (मकाउ एसएआर), टच एन गो ईवालेट र बहार्डको माइपीबी (मलेसिया) लगायतका एपहरू सामेल छन्।
यसैगरी हाईपे (मंगोलिया), जीक्याश (फिलिपिन्स), च्याङ्गी पे र ओसीबीसी डिजिटल (सिङ्गापुर), टस पे (दक्षिण कोरिया) र ट्रुमनि (थाइल्याण्ड) मार्फत पनि भुक्तानी गर्न सकिनेछ।
एन्ट इन्टरनेसनल (अलिपे प्लस) र एनसीएचएलले गत मे २०२४ मा अन्तरदेशीय भुक्तानी सेवा सुरु गर्न प्रारम्भिक सम्झौता गरेका थिए।
यो सहकार्यले नेपालको रिटेल पेमेन्ट सिस्टमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्दै नेपालको पर्यटन उद्योगलाई सहयोग पुग्ने विश्वास गरिएको छ।



