काठमाडौँ : बलिउड अभिनेत्री श्रद्धा कपूरले चर्चित दक्षिण भारतीय फिल्म 'पुष्पा २' मा आइटम गीतको अफर अस्वीकार गरेकी छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनलाई आइटम डान्सको लागि प्रस्ताव गरिएको थियो, तर उनले यो प्रस्ताव अस्वीकृत गरेकी हुन्। श्रद्धाले यस अफरलाई अस्वीकार गरेपछि अब उक्त गीतमा श्रीलीलालाई देखिने भनिएको छ।
सन् २०२१ मा रिलिज भएको 'पुष्पा' फिल्ममा सामन्था रूथ प्रभुले 'ऊ अंटावा' बोलको चर्चित गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्, जुन दर्शकहरू माझ निकै लोकप्रिय बनेको थियो।
सुकुमारद्वारा निर्देशित 'पुष्पा २' मा अल्लू अर्जुन र रश्मिका मन्दना प्रमुख भूमिकामा छन्। फिल्मलाई माइथ्री मूभी मेकर्सले निर्माण गरिरहेको छ। यसलाई आगामी ५ डिसेम्बरमा रिलिज गर्ने तयारी भइरहेको छ।



