काठमाडौं : रुरु जलविद्युत् परियोजनाले आज कात्तिक ११ गते १९औँ वार्षिक साधारणसभा गर्दैछ। सभा काठमाडौंको नक्सालस्थित लिसारा ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
यस साधारणसभामा गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ।
सभाले बोनस वितरणपछि कायम हुने चुक्तापुँजीको १ः०.८० अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। कम्पनीले सुम्निमा हाइड्रोपावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेकाले सो लगानी व्यवस्थापनका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि असोज ३० गते बुक क्लोज गरेको थियो, जसको अर्थ असोज २९ गतेसम्म कायम शेयरधनीहरूलाई यो लाभांश प्राप्त हुने र साधारणसभामा सहभागी हुने अवसर हुनेछ।



