काठमाडौं : हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०७ प्रतिशतले खुद नाफा वृद्धि गरेका छन्। समग्रमा अधिकांश बैंकहरूको नाफामा सुधार देखिएको छ, जसको प्रमुख कारण राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको लचक व्यवस्थाले कर्जाको रिकभरिमा सुधार ल्याउनु हो।
असोज मसान्तसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरूले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। गत वर्षको सोही अवधिमा यी बैंकहरूको नाफा १ अर्ब १० करोड ७५ लाख रुपैयाँ थियो।
राष्ट्रियस्तरका ८ बैंकमध्ये महालक्ष्मी विकास बाहेक सबै बैंकहरूको नाफामा वृद्धि देखिएको छ। ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै १ सय ९७.६० प्रतिशतले वृद्धि भएको छ। दोस्रो स्थानमा कामना सेवा विकास बैंकले ४६ प्रतिशत नाफा वृद्धि गरेको छ।
नाफाको हिसाबले मुक्तिनाथ विकास बैंक अग्रस्थानमा छ। यस बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ, जुन २३.१७ प्रतिशतले वृद्धि भएको हो। त्यसपछि शाइन रेसुङा विकास बैंकले २३ करोड ९३ लाख, गरिमा विकास बैंकले २२ करोड ५७ लाख, लुम्बिनी विकास बैंकले २० करोड १९ लाख, कामना सेवाले १७ करोड ४९ लाख, ज्योतिले १५ करोड ११ लाख र महालक्ष्मी विकास बैंकले ९ करोड ४२ लाख रुपैयाँ नाफा गरेका छन्।
सांग्रिला डेभलपमेन्ट बैंकले सबैभन्दा कम ६ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन २९ प्रतिशतले वृद्धि भएको हो। सांग्रिलाले गत वर्षको सोही अवधिमा ४ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो।
महालक्ष्मी विकास बैंक भने एकमात्र बैंक हो जसको नाफामा १.१४ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष ९ करोड ५३ लाख रुपैयाँ नाफा गरेको बैंकले यो वर्ष ९ करोड ४२ लाख मात्र नाफा आर्जन गरेको छ।



