काठमाडौं : आज (कात्तिक ८ गते) सम्म शेयर खरिद गर्ने लगानीकर्ताले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले निष्काशन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भोली कात्तिक ९ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
एलआईसी नेपालले चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अनुपातमा अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरमा कुल २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर बिक्री गर्नेछ।
नेपाल धितोपत्र बोर्डले असोज १४ गते एलआईसी नेपाललाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो। कम्पनीले गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएको थियो।
यस हकप्रद शेयर बिक्रीको प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ। एलआईसी नेपाललाई इक्रा नेपालले 'इक्रा एनपी आइआर ए' रेटिङ दिएको छ। यो रेटिङले कम्पनीलाई तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्न पर्याप्त सुरक्षित रहेको र अत्यन्तै न्यून कर्जा जोखिम भएको सूचक जनाउँछ।



