काठमाडौँ : मधेश प्रदेशको यातायात व्यवस्था कार्यालय धनुषाले तीन महिनामा १२ करोड ६३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षका साउन, भदौ र असोज महिनामा गरी उक्त राजस्व सङ्कलन गरिएको हो।
कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहका अनुसार साउनमा ४ करोड ५५ लाख, भदौमा ३ करोड ९५ लाख र असोजमा ४ करोड १५ लाख राजस्व सङ्कलन भएको हो।
सवारी दर्ता, चालक अनुमतिपत्र नवीकरण, सवारी कर, रुट परमिट, आयकर तथा सडक सम्भारजस्ता विभिन्न सेवाबाट यो राजस्व प्राप्त भएको छ।
गत असोज २१ गतेसम्ममा कार्यालयले साना सवारीसाधन १ हजार २ सय १७, जीप/कार २२, ट्र्याक्टर २९, बस २१, मिनीट्रक ७, भाडाका इ-रिक्सा १ सय ६०, व्यक्तिगत इ-रिक्सा १ सय ७३, एम्बुलेन्स १, र डोजर ५ वटा दर्ता गरेको छ।
प्रमुख सिंहले कार्यालयमा सुधारका प्रयास भइरहेका बताएका छन्, जसले सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्न मद्दत गरेको छ। उनले गत आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले ६३ करोड १५ लाख राजस्व सङ्कलन गरेको जानकारी दिएका छन्।
मधेश प्रदेशमा अहिले ८ जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा रहेको छ। संघीयता लागू हुनुअघि तीन जिल्लामा मात्र यस्ता कार्यालयहरू थिए।



