काठमाडौँ : सहरी विकास मन्त्रालयले देशका विभिन्न स्थानहरूमा ७ वटा नयाँ स्वास्थ्य भवन निर्माण सम्पन्न गरेको छ। मन्त्रालयले साउनदेखि १०० दिनको अवधिमा यी भवनहरूको निर्माण गर्ने लक्ष्य राखेको थियो। जुन सफलतापूर्वक पूरा भएको छ। मन्त्रालयका सचिव मणिराम गेलवालले आइतबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।
निर्माण सम्पन्न भवनहरूमा सोलुखुम्बुको जिल्ला जनस्वास्थ्य कार्यालयको भवन, पाँचथरको लुङरुपा आयुर्वेद औषधालय, डडेल्धुराको उपक्षेत्रीय अस्पताल भवन रहेका छन्। यसबाहेक तेह्रथुममा इसिबु र थोउक्लुङ स्वास्थ्य चौकी भवन, धनकुटामा मारेकटहरे र मूर्तिढुङ्गा स्वास्थ्य चौकी भवनहरू निर्माण भएका छन्।
मन्त्रालयको यो परियोजनाले देशका विभिन्न दुर्गम तथा सहरी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।



