काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लामा ध्यान नदिन आग्रह गर्नुभएको छ। प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले सरकारले आफ्नो कार्यकाल पूरा गर्नेमा ढुक्क रहन भनेका छन्।
प्रधानमन्त्री ओलीले दिनैपिच्छे सरकार परिवर्तन हुने अफवाह सुन्ने गरेको उल्लेख गर्दै भने “दशैंपछि सरकार परिवर्तन हुन्छ रे, तर कुन दशैं भन्ने कुरा नै स्पष्ट छैन। २०८४ सालको दशैंपछि चुनावमा परिवर्तन त ठीकै हो।”
प्रधानमन्त्री ओलीले करिब एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन्। ओलीले पहिले नै सत्ता हस्तान्तरणको योजना स्पष्ट पारिसकेको भन्दै भने “मैले भनेकै हुँ, सरकार आफैं फेरिन्छ, यो प्रक्रियागत कुरा हो।”
उनले कांग्रेस र एमाले मिलेर बनेको सरकार स्थिर र सबल रहेकोमा जोड दिँदै भने “सरकार खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको समर्थन छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ।”
प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई अझ सबल र सक्षम बनाउन सरकारको प्रतिबद्धता रहेको पनि उल्लेख गर्नुभएको छ ।



