काठमाडौँ : फूलपातीको दिन नेपाल वायुसेवा निगमले काठमाडौँ-भैरहवा विशेष उडान गर्ने भएको छ। दसैँको अवसरमा आन्तरिक उडानमा यात्रुको अत्यधिक चाप कम गर्न निगमले पहिलो पटक न्यारोबडी ए ३२० विमान सञ्चालन गर्न लागेको हो।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार फूलपातीका दिन काठमाडौँ–भैरहवा उडान यात्रुलाई दसैँ मनाउन घर पुग्न सहज होस् भन्ने उद्देश्यले तय गरिएको हो। यसअघि न्यारोबडी विमानलाई आन्तरिक उडानका लागि अनुमति प्राप्त नभएको अवस्थामा यो पटक पहल गरिएको हो।
यसअघि हिमालय एयरलायन्सले काठमाडौँ–पोखरा–काठमाडौँ रूटमा न्यारोबडी विमानको परीक्षण उडान गरेको थियो। तर यसमा यात्रु सवार थिएनन्।
असोज १० र ११ गतेको भारी वर्षाका कारण बाढी र पहिरोले राजमार्ग अवरुद्ध हुँदा हवाई सेवामार्फत वैकल्पिक यातायातको व्यवस्था गर्न निगमले यो निर्णय लिएको हो। यात्रुहरूको सहजताको लागि निगमले अनलाइन टिकट बुकिङको व्यवस्था पनि उपलब्ध गराएको छ। जसलाई मोबाइलबाट समेत प्रयोग गर्न सकिन्छ।



