काठमाडौँ : नेपाल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ। आइतबार बैंकका सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी र अन्य पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चेक हस्तान्तरण गरे।
बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि यो सहयोग गरिएको हो।
सोअवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै कर्जा प्रवाहमा लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन गर्न आग्रह गरे। उनले खराब कर्जाको व्यवस्थापनमा कडाइका साथ काम गर्न र प्रणाली र कानुनअनुसार कार्य गर्नेमा जोड दिएका छन। यसक्रममा अनुहार नहेरी निर्णय लिन महत्त्वपूर्ण रहेको बताए।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट कुल तीन करोड ४८ लाख रुपैयाँको चेक हस्तान्तरण भएको थियो। मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उद्धार कोषमा प्रारम्भिकरूपमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी छ।



