काठमाडौँ : नेपाल राष्ट्र बैंकको असोज १३ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा ठूलो वृद्धि देखिएको छ। एक दिनमा १२ अर्बको वृद्धि भएको छ। जसले बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ६४ अर्ब निक्षेप संकलन भएको तथ्य देखाउँछ। वाणिज्य बैंकहरुले पनि निक्षेप संकलनमा ११ अर्बको वृद्धि गरेका छन्। जसले कुल ५८ खर्ब ३९ अर्बको निक्षेप संकलन गरेको देखिएको छ।
तर, सोही अवधिमा कर्जा प्रवाहमा भने सामान्य वृद्धि मात्र भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहमा ४ अर्बको वृद्धि देखाएको छ। वाणिज्य बैंकहरुको कर्जा प्रवाह लगभग स्थिर रहेको छ। जसमा ४ अर्बको मात्र वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले यस अवधिमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको र औसत सीडी रेसियो ७८.५१ प्रतिशत कायम भएको देखाएको छ। यसले बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा उल्लेखनीय वृद्धि भए पनि कर्जा प्रवाहमा भने त्यति ठूलो परिवर्तन नआएको संकेत गर्छ।



