काठमाडौँ : नेपालको पहिलो केबलकार, मनकामना केबलकार आजदेखि पुनः नियमित रूपमा सञ्चालनमा आएको छ। मनकामना दर्शन प्रालिद्वारा सञ्चालित यो केबलकार अब ‘डिजिटल’ प्रविधिमा आधारित हुनेछ। स्तरोन्नति र मुख्य तारको लट्ठा परिवर्तन गर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा अस्थायी रूपमा बन्द गरिएको थियो।
२६ वर्षसम्म ‘एनालग’ प्रविधिको माध्यमबाट सञ्चालन हुँदै आएको केबलकारलाई अब डिजिटल प्रविधिमा रुपान्तरण गरिएको छ। यस कामलाई अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकहरूको सुपरिवेक्षणमा सम्पन्न गरिएको हो।
मनकामना मन्दिरमा दर्शनका लागि यो केबलकार पहिलो पटक वि.सं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा ल्याइएको थियो। यसको बटम स्टेसन चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा रहेको छ। जहाँबाट गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्मको यात्रा गरिन्छ।



