२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास गरिंदै

images

  • २०८० कात्तिक १७, शुक्रबार
  • 1.3K
    SHARES
  • पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास गरिंदै

    कात्तिक १७,पनौती : पनौती नगरपालिकाले नगरपालिकाका–७ स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउ समुदायस्तरमा छलफल सुरु गरेको छ। नगरपालिकाले आज ‘प्राचीन स्मारकको संरक्षण र प्रवर्द्धनमा स्थानीय बासिन्दाको दायित्व र भूमिका विषय’ मा अन्तरक्रिया आयोजना गरेको हो।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा सहसचिव सुरेश श्रेष्ठले प्राचीन स्मारक क्षेत्रका बासिन्दा नै पूर्णरुपमा नलागेसम्म विश्व सम्पदामा सूचीकृत गर्न सम्भव नहुने बताउनुभयो। सो क्षेत्रभित्रका नागरिकको धेरै गुनासो आउने गरेको छ भन्दै उहाँले संरक्षण क्षेत्रको संवद्र्धन र प्रवर्द्धनको पहिलो दायित्व स्थानीय बासिन्दामै रहने उल्लेख गर्नुभयो।

    “स्थानीय बासिन्दाको संलग्नताबिना काम बन्दैन”, सचिव श्रेष्ठले भन्नुभयो, “यस क्षेत्रको मुख्य समस्या के हो, किन काम अगाडि बढ्न सकेन भनेर छलफल अगाडि बढाउने जिम्मा यहीँका बासिन्दाले गर्नुपर्छ।” सो क्रममा उहाँले निजी घर र सम्पत्ति पनि सम्पदा हुन सक्ने भएकाले संरक्षित क्षेत्रमा पुरातत्व विभागले तोकेको मापदण्डअनुसारका घर बनाउन सुुझाव दिनुभयो।

    संस्कृतिविज्ञ विधुप्रकाश कायस्थले सम्पदाका बारेमा विश्वसामु चिनाउनका लागि पनि विश्वसम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक रहेकाले  समुदायमा आधारित भएर छलफल गरी यसलाई छिट्टै सूचीकृत गराउन आवश्यक रहेको बताउनुभयो।

    नेपाल आफैँ पनि विश्वसम्पदा सूचीमा सूचिकृत देश भए पनि सदस्य राष्ट्रहरुबाट भोटिङ गरेर निर्णय हुने भएका कारण त्यसमा नेपाल सरकारका तर्फबाट पहल गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो। प्रक्रिया पूरा गरेर पेस गरेपछि पहल गर्न आवश्यक देखिएकाले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको विज्ञ कायस्थको भनाइ थियो।

    पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत किन गर्नुपर्ने र त्यसमा समुदाय, सङ्घसंस्था र स्थानीय सरकारका भूमिका के कस्तो हुने भन्ने विषयमा सबैलाई जानकारी हुन आवश्यक रहेकाले समुदायस्तरमै गएर छलफल सुरु गरिएको जानकारी दिनुभयो। 

    सूचीकृत हुनु ठूलो कुरा नभएर निरन्तरता दिनु ठूलो कुरा भएको र त्यसको जिम्मेवारी समुदायमै हुने भएकाले समुदायस्तरबाट देखिने र नदेखिने सम्पदाको संरक्षण कसरी गर्न सकिन्छ र भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरक्रिया थालिएको उहाँले बताउनुभयो।

    उपप्रमुख गीता बञ्जाराले विश्वसम्पदा सूचीमा सूचीकृत हुनका लागि बनाइएको घर, मठमन्दिर पुनःनिर्माण गर्दा सम्पदा मैत्री भयो भएन भनेर खोज्ने र समीक्षा गरिने भएकाले स्थानीय बासिन्दालाई समेत राखेर छलफल अगाडि बढाइएको बताउनुभयो।

    स्थानीय समाजसेवी श्यामसुन्दर सैँजुले प्राचीन पनौती र विश्वसम्पदा सूचीमा सूचीकृत गराउने मापदण्डको विषयमा छलफल गरिरहँदा नयाँ पुस्ताले बदलिँदो परिस्थिति अनुसारको परिवर्तन खोज्ने, त्यसैमा रम्ने र पुरानो संरचना अस्वीकार गर्ने प्रवृत्ति बढ्दै गएका कारण पुरानो पनौती बजार सुनसान बन्दै गएको बताउनुभयो। 

    त्यसका लागि मानव बसोबास सहितको पनौती चाहेको भए युवा पुस्ताले पनि बस्नयोग्य बस्ती निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको र  त्यसतर्फ नगरपालिका, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभाग लगायतको ध्यान जानुपर्नेमा जोड दिनुभयो।

    विश्वसम्पदा सूचीमा सूचीकृत गराउन प्रयास गरेको करिब २७ वर्ष बितिसक्दा पनि अझै सूचीकृत हुन नसकेको भन्दै पनौतीलाई छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने माग गर्दै नगरपालिकाको नेतृत्वमा सरोकारवालाहरुले पटक पटक सम्बन्धित निकायमा घच्घच्याउने काम गर्दै आइरहेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सङ्घसंस्था र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ