काठमाडौँ : प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ। यस केन्द्रको उद्देश्य स्वदेश र विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई सहज र सरल शैक्षिक कर्जा उपलब्ध गराउनु हो। यो केन्द्रले कर्जा प्रक्रियालाई प्रभावकारी बनाउन र विद्यार्थीहरूको शिक्षा सम्बन्धी वित्तीय आवश्यकतामा सहयोग पुर्याउने विश्वास गरिएको छ।
प्रभु बैंकले गण्डकी प्रदेशमा उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूको लागि सहज कर्जा सुविधा प्रदान गर्नका लागि यो विभाग स्थापना गरेको हो। यो केन्द्रले प्रदेशस्तरबाट उपलब्ध हुने कर्जा सुविधालाई ध्यानमा राखेर, विद्यार्थीहरूको उच्च शिक्षा सम्बन्धी वित्तीय चुनौतीहरूलाई सहज बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ।
बैंकका अनुसार, सीमित वित्तीय स्रोतका कारण उच्च शिक्षा प्राप्त गर्न कठिनाइमा परिरहेका अभिभावकहरूलाई सहज र छिटो शैक्षिक कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि शैक्षिक केन्द्रले कर्जा प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
शैक्षिक कर्जा सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको गण्डकी प्रदेश कार्यालयको शैक्षिक केन्द्र वा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क गर्न सक्नेछन्। कर्जा स्वीकृत गर्ने प्रक्रिया ५ दिनभित्र पूरा हुने व्यवस्था गरिएको छ। शैक्षिक केन्द्रको उद्घाटन प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनले गरेकी थिइन्।
प्रभु बैंकले सम्पूर्ण शाखा कार्यालयहरूमा नियमित बैंकिङ्ग सेवाहरूलाई सरल र सहज रूपमा प्रदान गर्दै आएको छ। गण्डकी प्रदेश प्रमुख राजु रानाले शैक्षिक केन्द्रको स्थापना पछि विद्यार्थी र अभिभावकहरूलाई थप उत्कृष्ट सुविधा प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी, ग्राहकहरूको रोजाइमा अग्रणी रहेको प्रभु बैंकलाई हालसालै “बैंक अफ द इयर २०२३”को उपाधि प्राप्त भएको छ। प्रभु बैंकले नेपालभर ३१५ शाखा, २८६ एटीएम, र ६९ एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै उच्च गुणस्तरीय बैंकिङ्ग सेवामा अग्रसर रहन सकोस् भन्ने लक्ष्य राखेको छ।
कार्यक्रमका केहि झलकहरु :







