काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ५० करोड रुपियाँ जम्मा गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपादान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा राख्न लागेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब २० करोड, विकास बैंकमा २२ करोड ५० लाख र फाइनान्स कम्पनीमा ७ करोड ५० लाख रुपियाँ गरी कुल १ अर्ब ५० करोड रुपियाँ राख्न लागेको हो ।
राष्ट्र बैंकले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा उक्त रकम राख्न लागेको हो । मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको, न्यूनतम पुँजी कोष अनुपात कायम रहेकोलगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतीमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।



