कात्तिक १६, दाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ज्योतिष विद्याको वैज्ञानिक अध्ययन आवश्यक भएको बताउनुभएको छ।
नेपाल ज्योतिष परिषद्को १८औँ राष्ट्रिय सम्मेलनको घोराहीमा भएको कार्यक्रममा मन्त्री शर्माले ज्योतिषबारे भएका भ्रम हटाएर यो वैज्ञानिक र पूर्वीय दर्शनको महत्त्वपूर्ण पाटो हो भनेर बुझ्नुपर्ने बताउनुभयो। “पूर्वीय दर्शनप्रतिको विश्वास संसारभर छ तर यो विज्ञान हाम्रो हो भनेर अपनत्व र अधिकार कायम गर्न सकेका छैनौँ”, उहाँले भनुभयो।
पूर्वीय दर्शनको ज्ञानका आधारमा वैज्ञानिक आविष्कार भएका बताउँदै सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले संस्कृत विश्वविद्यालयलाई केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले धार्मिक सहिष्णुता कायम गर्न सबै नेपाली सधै सजग एवं एकताबद्ध हुनुपर्ने बताउनुभयो।



