काठमाडौं :सेयर बजारका विभिन्न चार संगठनहरूले सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया अघि बढाउन संयुक्त रुपमा माग गरेका छन् ।
नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
धितोपत्र बोर्डमा नेतृत्व नहुँदा लामो समयदेखि प्राथमिक सार्वजनिक निष्कासनको प्रक्रिया अघि बढ्न नसकिरहेको गुनासो गर्दै यी संगठनहरूले यसलाई सुचारु गराउनुपर्ने माग गरेका हुन् ।
अतियोग्य कम्पनी बाहेक प्रिमियम र बुक विल्डिङ प्रक्रियाबाट शेयर निष्कासन गर्न निरुत्साहित गर्नका लागि समेत संघहरूले जोडदार माग गरेका छन् ।
कम्पनीहरूको सेयर जारी गर्दा नेटवर्थ, लाभांश क्षमता, व्यवसायिक योजना एवम् कम्पनीको ग्रोथलाई सुक्ष्म अध्ययन गरी निष्कासन अनुमति दिन संघहरूले सुझाब दिएका छन् ।
नेपालको पूँजीबजारको आकार दिनप्रतिदिन बढिरहेको अवस्थामा आगामी दिनमा यसको क्षेत्र व्यापक रुपमा विस्तार गर्न सकिने सम्भावनालाई संघहरूले औल्याएका छन् ।
पूँजी बजारलाई चुस्त पारदर्शी एवम पूण व्यावसायिक बनाउन सके यसले अर्थतन्त्रमा ठुलो योगदान गर्न सक्ने कुरालाई पनि संघहरूले विज्ञप्तीमा उल्लेख गरेका छन् ।



