काठमाडौं :संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टिआरसी विधेयक करिव टुंग्याउने चरणमा पुगेको बताउनु भयो ।
उहाँले बिहीवारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरुसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताउनु भयो । उहाँले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिंगो देश र शान्तिको प्रक्रियालाई निस्कर्षमा पु¥याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगोमा पु¥याउनुपर्ने बताउनु भयो ।
अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने बताउनु भयो । उहाँले कानूनलाई अब चाँडो भन्दा चाँडो टुंग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताउनु भयो । कार्यदलको बैठक बिहीवार बिहान ८ बजे पुनः बस्नेछ ।



