काठमाडौं :नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको वस दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गर्नु भएको छ ।सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री लेखकले सिमताल घटनाको अध्ययन गर्नका लागि सहसचिव छवि रिजालको नेतृत्वमा समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नु भएको हो ।
त्यस्तै उहाँले नेपाल प्रहरीको अपराध नियन्त्रण कार्ययोजना समेत स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गर्नु भयो । सो क्रममा उहाँले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधनको क्षति रोक्नका लागि ध्यान केन्द्रीत गर्ने बताउनुभयो ।
उहाँले बाढीपहिरो प्रभावित क्षेत्रहरूमा प्रभावकारी काम गर्नका लागि आवश्यक कार्ययोजना बनाएर नै अघि बढ्ने जानकारी दिनु भयो । मन्त्री लेखकले विधिको शासन, शान्ति सुरक्षा, अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने उल्लेख गर्नु भयो ।



