काठमाडौँ : आइसिसी टि–२० विश्वकपको पूर्वविजेता पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित भएको छ।
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा गए राति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर खेलेपछि खेल सुपरओभरमा पुगेको थियो। डालासमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई जितको लागि १९ रनको लक्ष्य दिएको थियो। पाकिस्तान १३ रनमा समेटिएपछि अमेरिका विजयी भएको हो।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो। अमेरिकाले २० ओभरमा तीन विकेट गुमाएर बराबर गर्यो। अमेरिकाका लागि कप्तान मोनाङक पटेलले सर्वाधिक ५० रन बनाए। उनले ३८ बलमा सात चौका र एक छक्काको सहायताले सर्वाधिक ५० रन बनाएका थिए। त्यस्तै आरोन जोनेसले ३६ र आन्द्रेस गौसले ३५ रन बनाएका थिए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले समान एक–एक विकेट लिए।
त्यसअघि पाकिस्तानको लागि कप्तान बाबर आजमले ४३ बलमा ४४ रन बनाए। त्यस्तै सादव खानले २५ बलमा ४० रन बनाए भने साहिन शाह अफ्रिदीले २३ रन जोडे। अमेरिकाका नोष्थुश केजिङ्गेले तीन विकेट लिए भने सौरभ नेत्रवालकरले दुई विकेट झारे । त्यस्तै अली खान र जसदीप सिंहको नाममा समान एक–एक विकेट रह्यो।



