काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा ‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ आयोजना हुँदैछ। मह उत्पादक किसानलाई बजारसम्म जोड्ने मुख्य उद्देश्यले सो मेला आयोजना हुन लागेको हो।
वैशाख २६ देखि ३० गतेसम्म पाँचदिने सो मेलामा भीर मौरी, कठौरी मौरी लगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री हुने छ। साथै मौरी र मह सम्बन्धी विभिन्न अनुसन्धानको निष्कर्ष तथा सूचनामूलक जानकारी दिइने छ। सो मेलामार्फत् मह काढ्ने तरिका, विशेषता थाहा पाउन सकिने छ।
मौरी, मौरीपालनका प्रविधि समेत प्रदर्शनी हुनेछ। मुलुकभर झण्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरूको प्रतिनिधित्व यस मेलाले गर्ने नेपाल मौरी पालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेले बताउनुभयो।
‘मेलामा उत्पादक बिक्रेता र उपभोक्ताहरूलाई एउटै छानामुनी भेट्न सकिने छ,’ उनले भने, ‘स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको हो।’
मेलामार्फत् उपभोक्ताले महको किसिमहरूबारे जानकारी दिइने छ। सो प्रदर्शनीको मुख्य नारा ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्नेछ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह–आयोजकको रूपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवर्धन केन्द्र, काठमाडौँ महानगरपालिका, चन्द्रागिरि नगरपालिका, नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लि लगायतको संयुक्त रूपमा आयोजना हुन लागेको हो।



