काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल प्रतिलिटर १६१ रुपैयाँ पर्नेछ।
इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा मूल्य बढाउनुपरेको निगमले जनाएको छ। आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्ने गर्दछ। सोही बमोजिम नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको छ।
निगमले मूल्य देशभरका विभिन्न ठाउँमा दूरी अनुसार फरक फरक मूल्य कायम गर्दै आएको छ। पहिलो वर्ग अन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १७५.५० रुपैयाँ कायम भएको छ।
दोस्रो वर्ग सुर्खेत र दाङ अन्तर्गतका क्षेत्रमा पेट्रोल १७७ रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १७८ रुपैयाँ कायम भएको छ।
यसैगरी डिजेल र मट्टीतेलको पहिलो वर्ग अन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १५८.५० रुपैयाँ कायम भएको छ। दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १६० रुपैयाँ तथा तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १६१ रुपैयाँ कायम भएको छ।



