काठमाडौं : नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो।
नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले हराएको थियो। तेस्रो खेलमा हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो। नेपालले अब बुधबार साउदी अरेबियासँग खेल्ने तालिका छ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाएका थिए। यस्तै, ओपनर कुशल भुर्तेलले ३२ रन, रोहित पौडेलले २५ रन तथा सन्दीप जोराले १९ रन बनाएका थिए। बलिङमा हङकङका एहसान खान र यासिम मुर्तजाले समान १/१ विकेट लिएका थिए।
त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको गरेको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो।
हङकङका लागि कप्तान निजाकत खानले सर्वाधिक ३४ रन बनाएका थिए। यस्तै, ओपनर मार्टिन कोट्जी ८ रन, निजाकत खान १२ रन, बाबर हायत ६ रन, अजिज खान ७ रन, यासिम मुर्तजा २ रन, नसरुल्ला राणाले ६ रन, जिशान अली १४ र एहसान खान ११ रन बनाएका थिए।
बलिङमा नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट, ललित राजवंशीले र दीपेन्द्रसिंह ऐरीले समान २/२ तथा करण केसीले १ विकेट लिएका थिए।



