२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य

images

  • २०८१ वैशाख १, शनिबार
  • 901
    SHARES
  • दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य

    तेह्रथुम : हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले २ महिनामै ३ गुणा बढी मूल्य पाएका छन्।

    म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो। अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ। 

    कोशी प्रदेश सरकारको रु ३ करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको रु १ करोड ३० लाख साझेदारीमा म्याङलुङ–९ साब्लामा १ हजार मेट्रिक टनको शीतभण्डार सञ्चालनमा छ।
     
    प्रतिकेजी २ रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर माघको अन्त्यतिर शीतभण्डारमा राखेको २ महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ-२ की मेनुकाकुमारी श्रेष्ठले बताउनुभयो। 

    “हिउँदमा सुन्तला बिक्री नभएर बगानमै कुहिने अवस्था थियो। बिक्री भइहाले पनि रु ५० किलो व्यापारीले मागिरहेका थिए। अहिले तीन गुुणा बढी मूल्य पायो हामी खुसी छौँ", श्रेष्ठले भन्नुभयो। 

    यसअघि शीतभण्डारमा भण्डारणको अनुभव नभएकाले बिग्रिने हो की भनी डराइडराइ सुन्तला भण्डारण गरेको म्याङलुङ–२ का मोतीराज तुम्बाहाङ्फे बताउनुभयो। “साथीहरुले बिग्रिन्छ नराख भन्दै थिए तर भण्डारणको समयमा कटिङ र लेबलिङमा ध्यान दिने हो भने नबिग्रिने रहेछ”, उहाँले भन्नुभयो। 

    विसं २०७० मा दर्ता भएको कियाचु कृषि सहकारीमार्फत मेयङलुङ शीतभण्डार गत सालदेखि सञ्चालित छ। किसानमा शीतभण्डारको उपयोगिताको बारेमा थाहा नभएकाले किसानसँग छलफलमा रहेको शीतभण्डारकी व्यवस्थापक कुमारी लिम्बूको भनाइ छ।

    यस वर्ष शीतभण्डारमा किवि तीन हजार किलो, सुन्तला दुई हजार किलो भण्डारण गरिएको छ। अब आलुको बीउ भण्डारणको तयारी भइरहेको व्यवस्थापक लिम्बूको भनाइ छ। हिउँदमा खान पाइने सुन्तला चैत वैशाखमा किनेर खान पाएकोमा स्थानीय उपभोक्ता समेत खुसी छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ