पोखरा : नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ।
फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारको क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो। उहाँ त्यागी र निष्ठावान् राजनीतिज्ञ एवं सामाजिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्यो।
कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा महानगरपालिका–२२ पुम्दीमा बस्दै आउनुभएका पौडेल विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुहुन्थ्यो। उहाँका पत्नी, २ छोरा र २ छोरी हुनुहुन्छ।
पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने र अन्त्येष्टि अघि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने छ। उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी हुनुभएको थियो। त्यस यता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका पौडेल कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति बन्नुभएको थियो।
लामो समय राजनीतिमा खटिए पनि लाभको पद नलिएका पौडेल तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराईसँग पराजित हुनुभएको थियो।
नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगरसमिति र विभिन्न एकाइले पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन्।



