काठमाडौं : काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ। आज सरकारले काठमाडौं उपत्यकामा भने सार्वजनिक बिदा दिएको छ।
जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्ने गर्छ। टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहन्छ। ललितपुरको पाटनमा भने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ।
परापूर्वकालदेखि उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा पर्व मनाइएको पाइन्छ।



