काठमाडौँ : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को ३७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभा चैत २० गते नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सफलतापूर्वक सम्पन्न भएको हो। आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
मर्जर पश्चात् यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोष ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कूुल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्दी भई आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०७९/८० को मध्यतिर अर्थात् मिति २०७९-०९-२७ गते देखि साविक मेगा बैंक नेपाल लिमिटेडसँग मर्जरको कारणले आय-व्ययका रकम अघिल्लो वर्षसँग तुलनात्मक रहेको छैन।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कूल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो।
विगत केही वर्षदेखि नेपाल राष्ट्र बैँकले बैँकहरुको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई मिति २०७९ पौष २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो।
हाल बैंकले २९६ शाखा, २८२ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङ मार्फत् ३२ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ।
गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन–युरोमनीबाट बेस्ट बैंक २०२३ को उपाधि समेत प्राप्त गर्न सफल भएको छ।
सम्माननीय सर्वाेच्च अदालतको निर्णयलार्ई अनुपालन गर्दै संचालकहरूको निर्वाचन हाललाई स्थगित गरिएको छ भने साधारण सभामा प्रस्तुत भएका अन्य सम्पूर्ण एजेण्डाहरु सभाद्धारा स्वीकृत तथा अनुमोदन भएका छन्।



