काठमाडौँ : काठमाडौँका विभिन्न स्थानमा आजदेखि एक साताका लागि विद्युत् सेवा आपूर्ति नहुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै आजदेखि एक सातासम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ।
प्राधिकरणको महाराजगन्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आगामी फागुन २२ गतेसम्म विद्युत् लाइन अवरुद्ध हुने जनाइएको छ।
आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ। महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन। बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।



