२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तातोपानी कुण्ड संरक्षणका लागि मर्स्याङ्दी गाउँपालिकाको चासो

images

  • २०८० फागुन ६, आइतबार
  • 846
    SHARES
  • चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तातोपानी कुण्ड संरक्षणका लागि मर्स्याङ्दी गाउँपालिकाको चासो

    लमजुङ : चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दी नदी छेउमै रहेको तातोपानी कुण्डको संरक्षण गरिने भएको छ। मर्स्याङ्दी गाउँपालिका–४ जगतको तातोपानी कुण्डको संरक्षण गर्न यहाँको गाउँपालिकाले चासो दिन थालेको छ। 

    गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले तातोपानी कुण्डलाई थप व्यवस्थित गदै प्रचारप्रसार गर्न सके पर्यटक आगमन हुने र ऐतिहासिक तातोपानी कुण्ड भएकाले यसको संरक्षणमा गाउँपालिका अघि बढ्न लागेको बताउनुभयो। तातोपानी कुण्डको व्यवस्थापनका लागि गाउँपालिकाले पर्यटन क्षेत्रको बजेटमध्ये रु १४ लाख विनियोजन भएको छ। 


    साथै तातोपानीको थप संरचना निर्माण गरी व्यवस्थापनका लागि सङ्घीय सरकारले रु छ लाख बजेट छुटाएको उहाँको भनाइ छ। तातोपानी कुण्डको व्यवस्थापन गर्ने योजना अनुरूप गाउँपालिकाका अध्यक्ष गुरुङसहित उपाध्यक्ष जुनमाया थापा, वडा नं ४ का वडाध्यक्ष बलबहादुर गुरुङ, गाउँपालिकाका इन्जिनियर सुरेश गौतमसहितको टोली केही दिनअघि तातोपानी कुण्डमा पुगेको थियो। 


    कुण्डलाई थप व्यवस्थित गर्ने काम चाँडै अघि बढाइने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ। एउटा ठुलो पोखरी र पिकनिक स्थल निर्माण र यसअघिको संरचनालाई थप व्यवस्थित गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ। स्थानीय पर्यटन व्यवसायी गुरुङका अनुसार जगतको तातोपानी कुण्डमा दुई वटा पोखरी छन्।


    प्रतिपोखरी १५ देखि २० जनासम्म अटाउँछन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु ५० हजार र गाउँलेको श्रमदानमा विसं २०६८ मा एउटा पोखरी निर्माण गरिएको र त्यसपछि तत्कालीन सांसद जमिन्द्रमान घलेको सांसद कोषको रु दुई लाख बजेटमा अर्को पोखरी निर्माण गरिएको थियो। 


    त्यस्तै, पर्यटन बोर्डबाट प्राप्त रु ५ लाख बजेट र स्थानीयवासीको श्रमदान गरी शौचालय, लुगा फेर्ने ठाउँ, आराम गर्ने ठाउँ निर्माण गरिएको थियो। २ वर्षअघि सो गाउँपालिकाले १ लाख ५० हजार बजेट र च्यामबर र २ वटा धारा  निर्माण गरिएको थियो। गाउँपालिकाकै रु ३ लाख बजेटबाट रेलिङ र सिँढीसमेत निर्माण गरिएको स्थानीयको भनाइ छ। 

    सो कुण्डमा चैत र कात्तिकमा नुहाउनेको भीड लाग्ने गर्दछ। यहाँ नुहाउँदा बाथ, छाला रोग र हाड जोर्नी लगायतका रोग निको हुने जनविश्वास छ। पर्यटकीय याममा विदेशी पर्यटकहरू तातोपानीमा नुहाउने गरेको स्थानीयको भनाइ छ।

    यहाँका स्थानीय पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले यहाँ तातोपानी कुण्डमा बनाइएको भौतिक संरचना जीर्ण हुँदै आएको र यति बेला गाउँपालिकाले यसलाई व्यवस्थित गर्न लागेकाले तातोपानी कुण्ड क्षेत्रको संरक्षण हुने र पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने बताउनुभयो। मर्स्याङ्दी नदी छेउमै रहेकाले बाढीले नबगाउने गरेर यसको संरचना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ