भदौ २५,काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिका भ्रमणमा जाने टोलीको संख्या घट्ने भएको छ । यसअघि प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउदसहित २४ जनाको टोली अमेरिका जाने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले सो संख्या घटाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीले मुख्यसचिव बैकुण्ठ अर्याललाई बोलाएर यस्तो निर्देशन दिनु भएको छ। । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसँग कति जनाको टोली जाने भन्ने निर्णय गर्ने बताउनु भयो ।
प्रधानमन्त्रीले जति सक्दो सानो भ्रमण टोली बनाउन निर्देशन पनि दिइसक्नुभएको छ । सोही अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको आचार्यले जानकारी दिनु भयो । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युर्योक जान लाग्नु भएको हो ।
अनावश्यक भ्रमण नगर्ने र अनावश्यक व्यक्तिलाई भ्रमण दलमा सहभागी नगराउने नीतिअनुसार संख्या घटाइएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



