भदौ २०,काठमाडौं :संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगर्ने बताउनु भएको छ।
बुधबार काठमाडौंमा खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेपालमा पछिल्लो समय केही तत्त्वहरूले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको उहाँको दाबी छ ।
उहाँले नेपाल सबै जाती, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्त्वहरूले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताउनु भयो । उहाँले विगतमा राजाको पालामा साम्प्रदायिकता भड्काउने काम भएपनि त्यस्तो हुन नसकेको उल्लेख गर्नु भयो ।
मन्त्री किराँतीले नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण,विकास,संवर्द्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको संस्कृति माथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट पारेको दाबी गर्नु भयो । उहाँले नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको बताउनु भयो ।



