काठमाडौँ : आज तामाङ समुदायले सोनम ल्होसार पर्व मनाउँदै छन्। सोनाम ल्होसार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ। ल्होसारलाई नयाँ वर्षका रूपमा मनाइन्छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६० औँ वर्ष सुरु भएको छ।
समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रूपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्। तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ।
आज काठमाडौँको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै छन्। ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।



