२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

images

  • २०८० माघ २६, शुक्रबार
  • 1.1K
    SHARES
  • नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

    म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ। नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो। यस आयोजनाको विद्युत् दाना सब स्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ। 

    नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने २ सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिनुभयो। ४२ मेगावाट क्षमताको नीलगिरिखोला पहिलोको विद्युत् गृह रहेको छोटेपादेखि दोभिल्ना हुँदै दाना जोड्ने ७.४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको छ।  

    नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको सहभागितामा दाना सब स्टेसनदेखि निलगिरी दोस्रोको विद्युत् गृहसम्म प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराएर परीक्षण गरिएको हो। प्रसारण लाइनको परीक्षण सकिए पनि आयोजनाको सुरुङको परीक्षण भने जारी रहेको छ।  

    सुरुङमा पानी हालेर परीक्षण गर्ने समय तालिका २०८० साल फागुन १५ गतेसम्म लम्ब्याइएको आयोजनाका आधिकारिक प्रतिनिधि गौतमले बताउनुभयो। “टनेलमा पानी हाल्ने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुन्छ,” उहाँले भन्नुभयो, “माछा मार्ने, नुहाउने, गाईबस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेका छौँ।”

    नीलगिरिखोला दोस्रो म्याग्दीमा हालसम्म निर्माण भएकोमध्ये सबैभन्दा ठुलो जलविद्युत् आयोजना हो। बाँध, सुरुङ, विद्युत् गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि परीक्षणलाई तीव्रता दिएको आयोजनाले जनाएको छ। छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी)मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो। छोटेपादेखि दोभिल्नामा रहेको विद्युत् गृहसम्म ४ हजार २ सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ। 

    विद्युत् गृह र छोटेपाको बाँधसहित ५ वटा अडितबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो। निलगिरी पहिलोको विद्युत् गृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरी क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ। दुई वटै आयोजनाको प्रवर्द्धक कम्पनी एउटै हो। 

    निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत् गृह निर्माण निर्माण अन्तिम चरणमा पुगेको छ। २ हजार मिटर लामो सुरुङलाई प्लास्टर गरेर फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ। विद्युत् गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ। 

    निलिगिरी पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ। २ वटै आयोजनाको विद्युत् गृह परिसरमा स्विचार्ड बनाइएको छ। बस्तीदेखि टाढा रहेको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण स्थल भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ। रु १३ अर्ब लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन्। नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजना निर्माण भएको थियो।

    ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्य वाहक वडा अध्यक्ष श्याम पुर्जाले बताउनुभयो।  ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ। काली गण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको एक सय ६४ मेगावाटको काली गण्डकी गर्ज आयोजनाको विद्युत् गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ