काठमाडौँ : एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो।
जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमा समेटियो । नेपालले दिएको लक्ष्य नजिक पुगेको क्यानडाले अन्तिम समयमा विकेट जोगाउन नसक्दा पराजय भोग्न बाध्य भयो।
क्यानडाविरुद्ध रोमाञ्चक जित दिलाउन नेपालका कप्तान पौडेलले ४ विकेट लिएका थिए। त्यस्तै, ललित राजवंशीले दुई विकेट लिँदा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १/१ विकेट लिएका थिए। क्यानडाका निकोलस किर्तोनले ६८ र पर्गत सिंहले ५० रनको पारि खेलेका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको इनिङ्स खेलेका थिए। क्यानडाका उदय भगवानले सर्वाधिक ३ तथा साद बिन जफर र इशवरजोत सोहीले समान २ विकेट तथा सहिद अहमदजई र हर्ष ठाकरले समान १/१ विकेट लिएका थिए।
घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडासंग एक दिवसीय सिरिज खेलेको हो। सिरिज अन्तर्गतको दोस्रो खेल शनिवार र तेस्रो खेल सोमबार हुनेछ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोम पाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी रहेका थिए।



