२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु, १७ करोड खर्च गरिदै

images

  • २०८० मंसिर ५, मंगलबार
  • 776
    SHARES
  • पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु, १७ करोड खर्च गरिदै

    मङ्सिर ५, काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक लोभ्याउने उद्देश्यले ताल निर्माण सुरु गरिएको छ। पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको नजिकमा पर्ने उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा कृत्रिम ताल निर्माण सुरु गरिएको हो। 

    जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिले जलजले ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलको ताल बन्न लागेको छ। यसअघि प्रदेशको पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो। 

    यसपछि प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले डिभिजन कार्यालयमार्फत निर्माण गर्न लागिएको तालमा डुङ्गा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राृकतिक सौन्दर्यीकरण सजावटका काम हुने जनाइएको छ।

    यस्तै, ताल परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्ने गरी तालको संरक्षण गर्ने योजना बनाइने छ। यस्तै, ताल क्षेत्र वरपरका रुखमा ‘ट्री हाउस, ट्री सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ। 

    प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माण गर्न गत वर्ष डिपिआर तयारपछि प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदनलाई केही परिमार्जन गरी ताल निर्माणार्थ जङ्गलका रुख कटानको प्रक्रियासमेत सँगसँगै अघि बढेको डिभिजन वन कार्यालयले जनाएको छ। 

    कार्यालयका डिभिजन प्रमुख इन्जिनियर मनिष महर्जनका अनुसार ताल निर्माण हुने स्थानमा रुख कटानका लागि प्रक्रिया चलिरहेको छ। “रुख कटान आदेशसँगै ताल निर्माणको काम अगाडि बढिरहेको छ”, उहाँले भन्नुभयो। कार्यालयका अनुसार ताल निर्माण हुने स्थानका तीन सय सातवटा रुख कटान गर्नुपर्ने छ। 

    महर्जनले ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा तालको बाँध निर्माण गरिने छ भने उक्त पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लामो हुने बताउनुभयो। उहाँका अनुसार पहिलो चरणमा ताल निर्माण हुनेछ भने दोस्रो चरणमा टिकट घरलगायत पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचनाका अन्य पूर्वाधार निर्माण गरिने छ। 

    ताल निर्माणका लागि चालु आर्थिक वर्षमा पहिलो चरणमा रु एक करोड बजेट विनियोजन भएको कार्यालयले जनाएको छ। तालसहितका उल्लेखित संरचना निर्माण गर्न थप रु १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ। ताल निर्माण सम्पन्नपछि सङ्घीय राजधानी काठमाडौँको नजिकको एक पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
     
    जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको र हाल बहुउद्देश्यीय परियोजनाका रूपमा सञ्चालन हुने उक्त योजनालाई क्रमागतरूपमा लगिएको काभ्रेपलाञ्चोकका सङ्घीय सांसद गोकुल बाँस्कोटाले बताउनुभयो। 

    उहाँका अनुसार बनेपाको वासुकी क्षेत्र र हिले जलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तव्य बनाउन संरचना निर्माण गर्न लागिएको हो। यस्तै,३ वर्षअघि सङ्घीय पर्यटन मन्त्रालयको सशर्त अनुदानको रु १५ लाख डिपिआर लगायतका लागि पहिलो बजेट विनियोजन गरिएको थियो।
      
    हाल सानो पोखरीमा अवस्थित हिले जलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व रहेको पाइएको छ। नगरकोटस्थित महादेव पोखरी र हिले जलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोबलिएको किंवदन्ती छ। यस्तै, वासुकी नाग हिले जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास गर्दै आइएको छ।

    हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही)को दिन पनौतीमा लाग्ने जात्रामा हिले जलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने गर्दै आएको छ।वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कँदा पहिलाकै अवस्थामा आउने किंवदन्ती पनि रहेको पाइन्छ।

    वासुकी नागले पनौतीको भ्रमण गर्दा उहाँको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आएको स्थानीय कृष्णप्रसाद दाहालले बताउनुभयो। हिले जलजले क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले ताललगायत पूर्वाधार निर्माण गर्न लागेको बताइन्छ।रासस

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ