हुम्ला : हुम्लाको उत्तरी सीमा क्षेत्र हिल्सामा निरन्तरको वर्षा र भीषण हिमपातका कारण ४१ जना नेपाली नागरिक सीमानाकमै थुनिएका छन्। हिल्सा र चीनको ताक्लाकोट जोड्ने आवतजावत ठप्प भएपछि उनीहरू हिल्सामै रोकिन बाध्य भएका हुन्।
अध्यागमन कार्यालयका अनुसार अलपत्र पर्नेहरू मुख्यगरी नाम्खा गाउँपालिका वडा नं. १, २ र ३ का बासिन्दा हुन्। ताक्लाकोटमा व्यापार-व्यवसाय गर्दै आएका उनीहरू गत शुक्रबार हिल्सा पुगेका थिए। तर, एकाएक मौसम बिग्रिएर हिमपात सुरु भएपछि उनीहरू अघि बढ्न नसकेका हुन्।
हिमपातसँगै कैलाश मानसरोवर यात्राका लागि चिनियाँ पक्षले नाका बन्द गरेको छ। हिल्सास्थित अध्यागमन कर्मचारीका अनुसार चीनतर्फ आगामी अक्टोबर ४ (असोज १८ गते) देखि नाका खुलाउने तयारी भइरहेको छ।
चीनतर्फ हिउँ हटाएर सडक सफा गर्ने काम भइरहे पनि नेपालतर्फको बाटो खोल्न अझै केही दिन लाग्ने देखिएको छ। सशस्त्र प्रहरी बलका अनुसार हिल्सा क्षेत्रमा हाल दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ।
हिल्सा पुग्न कठिन मानिने नारा लेक पार गर्नुपर्ने र त्यहाँ बाक्लो हिउँ जमेकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ। सडक खोल्न एउटा मात्रै स्काभेटर उपलब्ध रहेको, इन्धनको अभाव भएको र जनशक्ति सीमित भएकाले काममा चुनौती थपिएको छ। तैपनि सुरक्षाकर्मी र स्थानीयवासी मिलेर बाटो खुलाउने प्रयास जारी राखेका छन्।
यस वर्षको सिजनमा हिल्सा नाका हुँदै ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवरको दर्शन गरिसकेका छन्। मानसरोवर जानेमा सबैभन्दा बढी भारतीय पर्यटक छन् भने त्यसपछि बेलायत, अमेरिका र नेपालका नागरिक रहेका छन्।