बेसीशहर: निरन्तरको वर्षा र पहिरोपछि मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकको आज हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरिएको छ। प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पदयात्राका क्रममा रहेका उनीहरूलाई डाइनेस्टी हेलिकप्टर प्रयोग गरी मनाङको निस्याङ गाउँपालिका–१, घताङ एग्रो क्षेत्रबाट लमजुङको बेँसीसहर नगरपालिका–७ स्थित सहजी ल्याइएको हो।
गत असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण पदमार्ग तथा बेँसीसहर–चामे सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि उनीहरू घताङ एग्रो क्षेत्रमै रोकिन बाध्य भएका थिए। सडक सञ्जाल र पदमार्ग अवरुद्ध भई समस्यामा परेका पर्यटकहरूलाई हवाई मार्गबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
उद्धार कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी हबल्दार गुञ्जबहादुर बरामको नेतृत्वमा चार जनाको टोली परिचालन गरिएको थियो।
उद्धार गरिएका पर्यटकहरूमा सिटी आलिया रहादियानी, अराफी अनुगेराह साप्रुदिन, सिटी अकिया नुरफद्ला, अजी बागुस सेतियावान, नाइरा हानिफ्फादिला नोअर बुदिमान, बेट्टी अगुस्टिना सुप्रियाटिन, मेटा अज जाह्रा पुत्री, मुहम्मद दिनी अकबर, मुहम्मद अल्लाम नाज्ह्लिफा, एएफआरएल आरएलजेडकेएल, सिफा अलिफा युसुफ, मुहम्मद राफ्दी फौजान, मुमान, मुहम्मद खैरुदिन, बेला ग्रासेभा अमान्दा पुत्री र दिनी अब्दिलाह रहेका छन्।
लमजुङ अवतरणपश्चात् उनीहरू ग१ज ३७४० र बा.प्र.०१–००७ ख १६८० नम्बरका गाडीमार्फत पोखरातर्फ लागिसकेका छन्। मौसम र बाटोको अवस्था बिग्रेपछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सो उद्धार गरिएको प्रहरीले जनाएको छ।