काठमाडौँ : हामी भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता प्राप्त, विश्वमा विरताको छाप छोडेर गर्विलो इतिहास बोकेका वीर स्वाभिमानी नेपाली वि.स.२०६५ सालमा औपचारिक रुपमा गणतन्त्र स्थापना भई आजको दिन सम्म आई पुग्दा के वास्तव मै जनताले गणतन्त्रको अर्थ बमोजिम यसको सान्दर्भिकता प्राप्त गरेका छन त भन्ने प्रश्नको जवाफ खोज्ने अवस्थामा छौं । तर यो प्रश्नको जवाफ आम नेपाली नागरिक भएर दिने हो भने के हुन्छ भनेर मैले भनी राख्न सायदै नपर्ला ।
हिजो निरंकुश, सामन्ती शाशन व्यवस्था भनी गरिएको सशस्त्र जनयुद्ध, त्याग, बलिदानले ल्याएको यो राज्य व्यवस्थाले ती वेपत्ता भएका, अपांग भएका, घरवारविहीन भएका, द्वन्दले त्रसित बनेका नेपाली नागरिकको आत्मसम्मान अनि गौरवको मान राख्न सक्ने छ त ? नागरिकको लागि ल्याएको राज्य व्यवस्थाले नागरिकको हित गर्नु पर्छ । विचार एक अनि व्यवहार अनेक गरेर ल्याएको शाशन व्यवस्थाले नागरिकको हित प्रत्याभूत गर्न सक्दैन । हिजो सर्वहारा जनताका नेता भनी हिड्नेहरु आज सुरक्षाको घेरामा नबसी तिनै जनताको बिच जान सक्दैनन् । हिजो गणतान्त्रिक नेपाल र सुखि नेपाली को आशा देखाउनेहरु आज आम नागरिकको रगत र पसिनाको मुल्य खाएर एउटा निर्दोष पशुको कानमा बसेर रगतले ढाडिएको किर्नो जस्तै भएका छन् । यो अपराध को इन्साफ कस्ले गर्छ ?
हामीलाई तँ फलानो पार्टी म फलानो पार्टी भनेर खोक्रो राजनितीक बिल्ला ओड्ने भ्रष्ट पनि चाहिदैन् , तिनका भतुवा पनि चाँहिदैन, मान्छेलाई मान्छे जस्तो व्यवहार नगर्ने कुन्डले मुन्डले पनि चाँहिदैन् । चाहिन्छ त त्यो जसको जन्मदर्ता र नागरिकतामा मात्रै नेपाल नहोस् मन मुटुमा नेपाल होस्, नेपाल सब्द को सानमान राखोस् , नेपालीको आत्मसम्मान मा आँच नपुरावस्, राज्यको सम्पत्ति को सुरक्षा गरोस् , नेपाली नेपाली बिच विभेद नगरोस् , राजनीतिको अहंकारमा भाइचारा नफुटावस्, मातृभूमि प्रति उत्तरदायी बनोस्, परिवार समाज अनि देश प्रति जिम्मेवार बनोस् ।
नत्र रक्तपात उत्पाद मच्चाएर ल्याएको यो व्यवस्थाको के अर्थ ? एउटा आम नागरिकले सामाजिक सञ्जालमा सत्तामा रहेको नेताको बिरुद्ध बोल्दा साईवर सेना लाग्छ भने, भ्रष्टाचारीलाई भ्रष्टाचारी हो भनेर सडकको एक छेउमा बसेर चुक्क बोल्दा करपझ्याप पार्न राज्यको सुरक्षा संयन्त्रको दुरुपयोग गरिन्छ भने, पदिय दायित्व दुरुपयोग गर्नेलाई फलानो यस्तो भन्दै गर्दा नराम्रो लाई नराम्रो भन्न पनि पाईदैन भने यसलाई नै समृद्ध नेपालका सुखि नेपाली भनेर स्विकार्नु पर्ने ? किलोको किलो सुन, लाखौं करोडौं को मात्रामा विदेशी मुद्रा, लागुपदार्थ जस्ता अबैध चिज एयरपोर्ट बाट भित्रिदै गर्दा खाडिमा पसिना बगाएर कमाएर आउनेले ल्याएको दोस्रो मोबाइल र ल्यापटप खोस्ने कस्तो कानुनी व्यवस्था?
हिजो प्रजा मोटा भए दरवार बलियो हुन्छ भन्ने पनि थिए, अनि प्रजालाई दास जस्तो व्यवहार गर्ने पनि थिए तर आज त केवल सर्वहारा जनताको भावना माथि खेलवाड गरि अपच हुनेगरी नेपालीको पसिना खाने, सत्ता र शक्ति दुरुपयोग गरि अपच भएको अकुद सम्पत्ति लाई पनि पच पार्ने यो कुन्नि के तन्त्र हो, यो त निरंकुश तन्त्र भन्दा पनि बत्तर छ । अत : हामीले खोजेको भनेको जनताको समृद्धि हो, सुशासन हो, संविधानको अक्षरांक प्रत्याभूति हो, जिम्मेवार अनि जवाफदेही सत्ताशक्ति हो, भ्रष्टाचार रहित राज्य संयन्त्र हो अनि भाइचारा र मानवीयता व्याप्त समाज हो । नत्र जे तन्त्र होस् सुख पाइदैन ।
लेखक : आशिष न्यौपाने



