काठमाडौँ : सत्ताइस वर्षपछि पुनः सञ्चालनमा आएको कैलालीको टीकापुर विमानस्थलमा नियमित हवाई उडान सुरू भएको छ। तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमान आज दिउँसो १ः४४ बजे टीकापुरमा अवतरण गरेको हो। यो पहिलो उडानमा चालक दलका तीन सदस्य, छ कर्मचारी र १२ यात्रु रहेका थिए।
टीकापुरमा पहिलो उडानमार्फत पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीसहितका विशिष्ट पाहुनालाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले भव्य स्वागत गरे। विमानस्थलमा सयौँ स्थानीयले उत्साहपूर्वक सहभागी भई ऐतिहासिक क्षणलाई विशेष बनाए।
राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरिने र आगामी दिनमा काठमाडौं–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने प्रतिबद्धता जनाए। “गत निर्वाचनमा मैले विमानस्थल सञ्चालनको प्रतिबद्धता गरेको थिएँ, आज त्यो पूरा भएको छ। यसको निरन्तरताका लागि मेरो प्रयास जारी रहनेछ।” उनले भने।
नियमित उडान तालिका र व्यवस्थापन
टीकापुर नगरपालिकाको पहलमा काठमाडौंदेखि नेपालगञ्जसम्म यति एयरलाइन्स र नेपालगञ्जदेखि टीकापुरसम्म तारा एयरले 'कनेक्टिङ फ्लाइट' सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। अहिले हप्तामा दुई पटक, आइतबार र बिहीबार, काठमाडौंदेखि टीकापुरसम्म उडान हुनेछ।
नगरप्रमुख डगौराका अनुसार हरेक उडानका लागि न्यूनतम १५ सिट सुनिश्चित गर्ने सम्झौतासहित तारा एयरसँग सहकार्य गरिएको छ। काठमाडौं–टीकापुरको एकतर्फी भाडा ९ हजार रूपैयाँ निर्धारण गरिएको छ।
यात्रुहरूले टिकट पथिल होलिडेज (काठमाडौंको तीनकुने र टीकापुरस्थित कार्यालय) बाट खरिद गर्न सक्नेछन्। यति एयरलाइन्सको मोबाइल एप, खल्ती, इसेवा र विभिन्न ट्राभल एजेन्सीमार्फत पनि टिकट बुकिङ उपलब्ध छ।
स्थानीयको सहजता र आर्थिक प्रभाव
विमानस्थल सञ्चालनसँगै टीकापुरका स्थानीय बासिन्दाले नेपालगञ्ज र धनगढी पुग्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। विमानस्थल नजिकका कैलाली, बर्दिया र सुर्खेतका बासिन्दालाई यात्रा थप सहज हुने बताइएको छ।
सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनले टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे।
अन्य विमानस्थलको तयारी
यस्तै काठमाडौंदेखि अछामको साँफेबगर विमानस्थलमा नियमित उडानका लागि पनि तयारी भइराखेको छ। साँफेबगर नगरपालिकाले तारा एयरसँग न्यूनतम १५ सिट सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ। परीक्षण उडानपछिमात्र नियमित सेवा सुरू हुनेछ।
टीकापुर विमानस्थल सञ्चालनमा आएको यस ऐतिहासिक क्षणले स्थानीय पर्यटन, व्यापार र आर्थिक गतिविधिमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।



