२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालमा अमेरिकी पर्यटकको बृद्धि: भारतीय र चिनियाँ पर्यटक किन घटे?

images

  • २०८१ कात्तिक २०, मंगलबार
  • 1.9K
    SHARES
  • नेपालमा अमेरिकी पर्यटकको बृद्धि: भारतीय र चिनियाँ पर्यटक किन घटे?

    काठमाडौं : सन् २०२४ का १० महिनामा नेपालमा ९ लाख ४० हजार ७ सय ३२ विदेशी पर्यटक आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार, अक्टोबर महिनामा मात्रै १ लाख २४ हजार ३ सय ९३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले वृद्धि भएको हो।

    सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ पर्यटक आएका थिए। कोरोना महामारी पूर्व सन् २०१९ को तुलनामा ९२.९६ प्रतिशतले पर्यटक आगमनमा पुनरुत्थान भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए।

    पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक रहेको छ। उनले भने, “समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ। अक्टोबरमा आशातित पर्यटक आउन सकेनन्, किनकि महिनाको सुरुआतमै अविरल वर्षाले विपद्जन्य घटना भयो। अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ।”

    भारतीय र चिनियाँ पर्यटक घटे

    अगष्ट, सेप्टेम्बर र अक्टोबर महिनामा भारतबाट आउने पर्यटकमा गिरावट देखिएको छ। अक्टोबरमा भारतबाट १६ हजार ३ सय १३ पर्यटक नेपाल आएका थिए, जुन सेप्टेम्बरको तुलनामा १३ प्रतिशतले कम हो। सेप्टेम्बरमा २२ हजार ९ सय ८४ र अगस्टमा २५ हजार ८ सय ३२ भारतीय पर्यटक नेपाल आएका थिए।

    यसैगरी, चीनबाट आउने पर्यटक पनि घटेका छन्। अक्टोबरमा ७ हजार ७ सय ५० चिनियाँ पर्यटकले नेपाल भ्रमण गरे, जुन सेप्टेम्बरको तुलनामा केही कम हो।

    अमेरिकी पर्यटक बढे

    अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या भने बढेको छ। अक्टोबरमा अमेरिकाबाट १६ हजार २३ पर्यटक आएका छन्, जुन सेप्टेम्बरको तुलनामा १२.८८ प्रतिशतले बढी हो। यस्तै बेलायतबाट ८ हजार १९, अष्ट्रेलियाबाट ६ हजार ९ सय २९, जर्मनीबाट ६ हजार १८ र फ्रान्सबाट ५ हजार ४ सय ८५ पर्यटक आएका छन्।

    बङ्गलादेशबाट ४ हजार ४ सय ७६, श्रीलङ्काबाट ३ हजार १ सय १२ र इटालीबाट २ हजार ६ सय ३५ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

    यो वर्षको मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आएका छन्, जसमा १ लाख २८ हजार १ सय ६७ पर्यटक छन्। जुलाईमा भने सबैभन्दा कम ६४ हजार ५ सय ९९ पर्यटक नेपाल आएका थिए। अक्टोबर, अप्रिल, सेप्टेम्बर, जनवरी, फेब्रुअरी, मे, जुन र अगस्टमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक नेपाल भ्रमण गर्न आएका छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ