काठमाडौँ : आन्तरिक वायुसेवामा दुई हप्तासम्मको लागि पूर्ण रुपमा बुकिङ भएको छ। काठमाडौँबाट प्रमुख शहरी गन्तव्यमा जाने र ती गन्तव्यबाट फर्कने यात्रुको उच्च चापका कारण जहाजको अकुपेन्सी फुल भएको सम्बन्धित वायुसेवा कम्पनीले बताएका छन् ।
गत शुक्रबारदेखि आइतबार (११–१३ असोज) सम्मको वर्षा र पहिरोका कारण स्थलगत यातायात रोकिएपछि शनिबार र आइतबारको दुई दिनमा अधिकांश वायुसेवाको टिकट बिक्री भएको हो।
स्थलमार्गबाट यात्रा गर्न नसकेका यात्रुहरू आकस्मिक कारणले हवाई यात्रा गर्नुपर्ने व्यक्तिहरू र बाढीपहिरोले सिर्जना गरेको बाध्यताका कारण यो वर्षको दशैंको अवसरमा अधिकांश गन्तव्यका हवाई टिकटहरू चाँडै नै बिक्री भएका छन्।
दशैंमा यात्रा गर्नका लागि धेरै यात्रुले अग्रिम टिकट बुक गरिसकेका छन्। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, "बाढीपहिरोको कारणले गर्दा थप यात्रुहरूको टिकट खोज्ने चाप पनि बढेको छ। यही कारणले गर्दा गत आइतबार (१३ असोज)देखि नै हवाई टिकटहरू समाप्त भएका छन्।"
उनका अनुसार सबै गन्तव्यको टिकट पूर्ण रूपमा बिक्री भएपछि वायुसेवा कम्पनीलाई नियमित उडान र निर्धारित उडानमा यात्रुलाई कसरी सेवा दिने भन्ने चिन्ता परेको छ।



