२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
भरतपुर भ्रमण वर्ष २०२४

भरतपुर भ्रमण वर्ष २०२४ : आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

images

  • २०८० फागुन २०, आइतबार
  • 771
    SHARES
  • भरतपुर भ्रमण वर्ष २०२४ : आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

    चितवन : भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ। 

    आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराले आउँदो चैत ९ देखि १८ गतेसम्म महासङ्घले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो। आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई जानकारी गराउन महोत्सव आयोजना गर्न लागिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “वेशभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ। ” 

    महासङ्घका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तीमा दुई सयभन्दा बढी व्यापारिक प्रदर्शनी कक्ष रहनेछ। कम्तीमा दुई लाख दर्शकलाई महोत्सव अवलोकन गराउने गरी तयारी थालिएको उहाँले बताउनुभयो।

    चितवनमा थारु, चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७  आदिवासी जनजाति समुदाय बसोबास गर्दछन्। ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासङ्घका सचिव भुजेलले जानकारी दिनुभयो। “महोत्सवमा चितवनका आदिवासी जनजाति सम्बद्ध सबै सङ्घसंस्थाको प्रतिनिधित्व हुने छ”, उहाँले भन्नुभयो, “सबै जातजातिले आ–आफ्नो वेशभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउनेछन्।”

    यसबाहेक जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्ने गरी महोत्सव आयोजना गर्न लागेको उहाँले बताउनुभयो। “स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्री वितरण, कृषि, जडीबुटी तथा खनिज जन्य उत्पादनको प्रदर्शन र बिक्री वितरण गरिने छ”, उहाँले भन्नुभयो। भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा हुन गइरहेको यस महोत्सवको संरक्षक भरतपुर महानगरपालिका रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ